हाम्रो देशमा विभिन्न रीतिरिवाज, संस्कार, धर्म संस्कृतिका मानिसहरूले आ-आफ्नो चलनअनुसार विभिन्न चाडपर्व सदिऔ देखि मनाउँदै आइरहेका छन् । नेपाली समाजमा विविधता कायम छ । यही विविधता नै समाजको सौन्दर्य पनि हो । एउटै फूलको बगैँचा भन्दा थरी थरीका फूलको बगैँचा नै सुन्दर देखिन्छ ।
हिन्दु धर्मअनुसार हिमालय पुत्री पार्वतीले भगवान् विष्णुसँग विवाहको प्रस्तावलाई अस्वीकार गरिन् र पार्वतीका साथीहरूले हरण गरेर घनघोर जङ्गलमा लामो समयसम्म तपस्या गरिन् र एक दिन शिवलिंग स्थापना गरी आराधना गरिन् यसबाट शिव प्रभावित भएर प्रकट भए र पार्वतीलाई चिताएको पुगोस् भन्ने वरदान दिए ।
त्यस दिन नै पार्वतीले शिवलाई पतिको रुपमा मागिन र यसरी शिव पार्वतीको विवाह भयो त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यही मान्यताले हिन्दू महिलाहरूले तिजको बर्त बस्ने परम्परा छ । अविवाहित महिलाहरूले असल श्रीमान् पाउने र विवाहित महिलाले श्रीमानको दीर्घायु र सुस्वास्थ्य कामना सहित यो बर्त बस्ने परम्परा छ ।
उति बेलाको समयमा स्रोत साधनको अभाव थियो, सडकको बिस्तार थिएन, यातायातका साधन थिएनन् विवाह भएर गएका छोरी चेलीहरूको माइत आउने र जमघट हुने भनेकै तिजको अवसरमा थियो भने कतिपय त पारिवारिक जिम्मेवारीका कारण तिजमा पनि माइत जान नपाउने बाध्यता समाजमा थियो, त्यति बेला त्यहि परिवेशका दु ख पिडा, वेदनाका गीतहरू गाइन्थ्यो ।
तर अहिले आएर तिज पर्वको परिभाषा नै फेरिएको छ, यसको मौलिकता धरापमा परेको छ । बर्षायामको पानीले च्याउ उमारेझैँ गायक गायिका उमार्ने पर्व बनेको छ तीज, वर्षभरी नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकारहरू पनि सके आफू नाङ्गिएर नसके शब्दलाई नङ्ग्याएर त्यो पनि नसके सिङ्गो संस्कृति नङ्ग्याएर आफू हिट हुने मेलो बनाइरहेका छन् ।
व्यापार र आफ्नो क्षणिक चर्चाको लागि परम्परा र संस्कृतिको अनर्गल प्रयोग गरेर पर्वको संवेदनालाई महत्त्वहीन बनाइँदै छ । हरेक कुरा समयसँग परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु कतिको जायज हो ।
समय बदलियो र समयसँगै महिलाको जीवन जिउने शैली बदलियो । शोषण र दासता हट्दै गए । महिलामा आधुनिकता छायो तर आधुनिकताका नाउमा तिजको रौनक पनि उत्ताउलो र तडक भडक हुँदै गएको छ ।
अहिले त भन्न सक्छौ त्यो पुरानो तिजको स्वाद बदलिएर पुरै फरक भएको छ । अबका पुस्ताले खास तिज के हो भन्ने कुराको समेत पत्तो नपाउने परिस्थितिको सिर्जना हुँदै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
तीज पर्वको पौराणिक, सामाजिक र सांस्कृतिक महत्त्व हुँदाहुँदै पनि निराहार बर्त बसेर श्रीमानको आयु लामो हुन्छ भन्ने मान्यता अन्धविश्वास हो भन्दै क्रान्तिकारी भावहरू पनि प्रकट हुन थालेका छन् तर बर्त बस्ने सन्दर्भमा यस्ता विरोध गरे तापनि तिनै महिला दिदीबहिनीहरू महिनौं अगाडिदेखि पार्टी प्यालेसहरूमा दरको नाममा मासु र दारु खाने, सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि भएपनि नयाँ नयाँ सारी र गहनाहरू लगाउने, भेला भएर दु ख साटासाट र रमाइलो गर्न भन्दा पनि लवाई खवाई र बिलासी, देखावटी रुपमा फेसबुक र टिकटकका लागि कन्टेन बनाउने प्रतिस्पर्धामा नै उत्रेको भान हुन्छ ।
अहिले तिजको संस्कृति कता जादैछ भनेर चिन्ता र चासो पनि व्यक्त हुन थालेका छन् ।
उठाउनै नसकिने गहना, आलिसान होटेलमा पार्टी, हातमा बियर र वाइनको गिलास अनि गीत बज्छ चरी जेलैमा र सोचे झै जिन्दगी रहेन छ भन्ने यस्ता खालका प्रवृत्तिले तीजको मौलिकता माथि नै प्रश्न प्रश्न चिह्न खडा गरेका छन् ।
हाम्रा चाडपर्व मनाउने शैलीले समाजमा वर्गीय असमानतालाई फेरि ब्यूँताउन खोजेको जस्तो देखिन्छ तडक भडक र विलासी प्रवृत्तिले कम आय भएकालाई हीनताबोध हुन्छ भने अर्कोतिर अनावश्यक अरूलाई देखाउनकै लागि भएपनि खर्च गर्ने प्रवृत्तिले गर्दा जसरी पनि कमाउनुपर्छ भन्ने पारिवारिक दबाब हुन्छ जसले गर्दा भ्रष्टाचार समेत मौलाउँदै गएको देखिन्छ । उच्चपदस्थ सरकारी कर्मचारीहरूले परिवारलाई खुसी पार्न आफूहरूले दायाँबायाँ गर्नु परेको अनौपचारिक गफमा बताउने गरेका छन् ।
केही महिलावादीहरूले फरक खालका तर्क पनि गर्ने गरेका छन्, ‘पहिला महिलाहरूको हातमा खर्च थिएन, घरको कामबाट कहिल्यै मुक्ति पाउँदैनथे, अहिले उनीहरु काम गर्छन् र दुई चार पैसा कमाउँछन् ।’ अब उनीहरुले आफ्नो हिसाबले खर्च गर्न र रमाइलो गर्न किन नपाउने ?
यी तर्कहरू पनि आफ्नो ठाउँमा ठीकै हुन तर दरका नाममा हुने अस्वस्थकर खानपानले गर्दा सामाजिक जनजीवनमा नकारात्मक प्रभाव परेको देखिन्छ भने रमाइलो गर्ने र स्वतन्त्रताको नाममा फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको देखिन्छ । जसको प्रत्यक्ष लाभ छिमेकी मुलुकहरूले लिइरहेका छन् ।
हुन त चाडपर्व मनाउने आ-आफ्नै शैली र तरिका होलान् । मनोरञ्जन बिना जीवन सार्थक नहोला तर अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालिरहेका छौ त्यसको केहि प्रतिशत समय र पैसा समाजको निम्ति खर्च गर्न सके राम्रो सन्देश प्रवाह हुने थियो ।
अहिलेको समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा हिंसाका स्वरूपहरू फेरिएका छन् । युवाहरू दुर्व्यसनीका शिकार हुँदै छन्, यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरी चेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तिजजस्तो महिलाको कथा र व्यथा सुनाउने पर्वमा पनि गहना र सारीका गीतमा रमाउँदैछौं । परिस्थिति अनुसार खुसी हुनु रमाउनु राम्रो हो तर हामी सबैको सामाजिक दायित्व छ । हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ । दोषीलाई उन्मुक्ति दिनेका विरुद्ध दबाब सिर्जना गर्नुपर्छ । तीजको दरका अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ ।
अहिलेसम्म जे जस्तो भएता पनि अबको दिनहरूमा भने तिज लगायत सम्पूर्ण पर्वहरूलाई खर्चिलो र भड्किलो हुनबाट बचाउने विषयमा आजदेखि नै सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस् र हामी सबैले आ आफ्नो ठाउँबाट सहयोग पुर्याऔ ।
रक्षा बमको लेख नेपाल प्रेसबाट साभार ………….